विश्व ब्रहृमाण्डका अखिल नायक सृष्टिस्थिति र लयकर्ता आद्य शक्ति परमात्मा परमेश्वर देवाधिदेव महादेवको महिमा अपरम्पार छ । शिवशक्ति आद्य परमात्मा परब्रहृम हुनुहुन्छ । यो संसार भगवान् शिवकै अंशरूपमा चलिरहेको छ । शिवको अर्थ पनि कल्याण भन्ने हुन्छ । भगवान्को उपासना सर्वकल्याणकारी रहने गर्दछ । भगवान् सर्वत्र सर्वव्यापक हुनुहुन्छ । कार्य, अवस्था र प्रकिृतिअनुसार भगवान्को उपासना गर्ने भिन्न भिन्न समय र तत्अनुसारको फल वर्णन शास्त्रमा गरिएको छ । हरेक कार्य गर्ने विशेष दिन र समयको हुने गर्दछ । शिवउपासनाका निम्ति उत्तम समय र दिन श्रावण महिना र त्यसमा पनि सोमबार रहेकाले यो समय शिव उपासकका निम्ति विशेष रहने गर्दछ ।
श्रावण महिनामा शिवउपासना गर्नुको कारण :
श्रवण नक्षत्रका दिन पूर्ण हुने महिना श्रावण हो । ‘श्रवणक्र्षं पौर्णमास्यां ततोऽपि श्रावणः स्मृतः । यस्यश्रवणमात्रेण सिद्धिदः श्रावणेऽप्यतः ।।’ (स्कन्दपुराण, श्रावणमाहात्म्य, ईशसनत्कुमार-संवाद, १।१८) अर्थात् पूर्णिमाका दिन श्रवण नक्षत्र पर्ने भएकाले यो महिनालाई श्रावण भनिन्छ । जुन समयमा भगवान्को कथा श्रवण गर्नाले कार्यमा सिद्धि प्राप्त हुने शास्त्रीय फलश्रुति पाइन्छ । सबैभन्दा पवित्र महिनाका रूपमा पनि श्रावणलाई लिइएको छ । आकाश एवं धर्तीमा स्वच्छता रहने भएकाले पनि यो महिनालाई श्रावण भनिएको हो ।
यो महिना स्वच्छ र पवित्र रहने भएकाले ‘नभा’ भन्ने संज्ञा पनि पुराणमा दिइएको छ : ‘स्वच्छत्वाच्च नभस्तुल्यो नभा इति ततः स्मृतः ।’ (स्कन्दपुराण, पूर्ववत्, १।१९) श्रावण महिनामा सूर्य कर्कट राशिमा रन्छन् । सूर्य साक्षात् शिवजीका नेत्र अर्थात् आँखा हुनुहुन्छ । यसैगरी कर्कट राशिका स्वामी चन्द्रमा हुन् : ‘कुजशुक्रज्ञेन्द्वर्कज्ञशुक्रकुजजीवसौरियमगुरवः ।…’ (लघुजातकम्, राशिप्रभेदाध्यायः श्लो. ८) । यसैगरी चन्द्रमाका स्वामी साक्षात् शिवजी हुनुहुन्छ ः ‘चन्द्रः सूर्यः शनिः केतुग्रहो ग्रहपतिर्वरः ।’ (महाभारत, अनुशासनपर्व, शिवसहस्रनामस्तोत्रम्, श्लो. ३८) यसरी साक्षात् शिवजीको महिना श्रावण (कर्कटमा सूर्य रहने) भएकाले पनि यो महिना शिव उपासनाका निम्ति विशेष रहेको हो ।
यसैगरी अन्य सबै महिनाभन्दा भगवान्लाई श्रावण नै प्रिय लाग्ने गर्दछ । भगवान््ले १२ महिनामध्ये श्रावण नै मेरो प्रिय महिना हो भनी स्कन्दपुराणमा यसरी बताउनुभएको छ ः ‘द्वादशस्वपि मासेषु श्रावणे मेऽतिवल्लभः । श्रवणार्हं यन्माहात्म्यं तेनासौ श्रावणे मतः ।।’ (स्कन्दपुराण, श्रावणमाहात्म्य, ईशसनत्कुमार–संवाद, १।१७) अर्थात् १२ महिनमध्ये श्रावण म (शिवजी) लाई अतिप्रिय रहन्छ । यो समय भगवान्को कथा श्रवणका निम्ति पनि उत्तम रहन्छ ।
श्रावण महिनामा गरिएको शिव उपासना एवं ग्रहजप, होम, तर्पण, दान सम्पूर्ण मनोवाञ्छित फलदायी रहन्छन्: ‘ग्रहयज्ञः कोटिहोमो लक्षहोमोऽयुतस्तथा । कृतः फलति सद्योऽत्र वाञ्छितार्थफलप्रदः ।।’(स्कन्दपुराण, श्रावणमाहात्म्य, पूर्ववत्, २।१५) अर्थात् साउन महिनामा ग्रह यज्ञ, कोटिहोम, लक्षहोम आदि विशेष यज्ञ शुभफलदायी रहन्छन् । यो समयमा गरिएका यज्ञले मनले चाहेका सम्पूर्ण कुरा पूरा हुन्छन् । श्रावणभन्दा प्रिय अर्को महिना छैन भनी यसरी भगवान्ले बताउनुभएको छ : ‘यथायं मे प्रियो मासस्तथा किञ्चिन्न मे प्रियम् ।’ (स्कन्दपुराण, पूर्ववत्, २।१७)
यसरी हेर्दा श्रावण शिवजीको प्रिय महिना हो । वर्षाकालीन समय स्वच्छ र पवित्र रहनुका साथै यो समयमा गरिएका यज्ञ यागादि मनोकामना सिद्धिदायी रहने भएकाले श्रावण महिनालाई विशेष रूपमा लिइएको हो । यसैगरी सूर्य साक्षात् शिवजीको आँखा हुन् । कर्कट चन्द्रमाको राशि हो । चन्द्रमाका मालिक साक्षात् शिवजी हुनुहुन्छ । यही शिवजीको राशिमा सूर्य एक महिना रहने भएकाले श्रावण महिना शिवउपासनाका निम्ति उत्तम रहेको हो ।
श्रावणका सोमबारको महिमा :
सोम भनेको साक्षात् शिवजीको नाम हो । ‘चन्द्रमा मनसो जातः ।’ (यजुर्वेद) अर्थात् परमात्माको मनबाट चन्द्रमाको उत्पत्ति भएको कुरा यजुर्वेदमा उल्लेख पाइन्छ । यसैगरी सहस्र नाममध्ये नक्षत्रसाधक, सोम आदि पनि भगवान् शिवकै नाम हुन् भनी महाभारतमा उल्लेख पाइन्छ : ‘सहस्राक्षो विशालाक्षः सोमो नक्षत्रसाधकः ।।’ (महाभारत, अनुशासनपर्व, शिवसहस्रनाम, श्लो.३७) यसैगरी सोम चन्द्रमाको पनि नाम हो । अझ भनौं सोमबारका मालिक वा स्वामी चन्द्रमा हुन् र चन्द्रमाका स्वमी साक्षात् शिवजी हुनुहुन्छ ‘मत्स्वरूपो यतो वारस्ततः सोम इति स्मृतः ।।’ (श्रावणमाहात्म्य, ६।४)
अर्थात् मेरो स्वरूपको बार नै सोम हो भनी स्कन्दपुराणको श्रावणमाहात्म्यमा भगवानले बताउनुभएको छ । यसैगरी सोम अर्थात् चन्द्रमालाई महादेवले शिरमा नित्य स्थान दिनुभएको छ । शीतलता प्रदान गर्नेसोम शिवस्वरूप नै भएकाले सोमवार शिवजीको विशेष उपासना गरिएको हो । बाह्रवटै महिनाका सोमबार शिव उपासनाका निम्ति उत्तम मानिन्छन् ।
यदि यी वर्षभरिका सोमबार शिवजीको उपासना गर्न सकिएन भने पनि श्रावणको सामेबार व्रत धारण गर्नाले वर्षभरि गरिएको व्रत बराबर नै फल प्राप्त हुने गर्दछ ः ‘द्वादशेष्वपि मासेषु सोमवारः प्रशस्यते । तावत्कर्तुमशक्तश्चेछ«ावणे मासि कारयेत् ।अस्मिन् मासे व्रतं कृत्वा अब्दव्रतफलं लभेत् ।।’ (स्कन्दपुराण, श्रावणमाहात्म्य, ईशसनत्कुमार–संवाद, ६।५) अर्थात् वर्षभरिका सोमबार व्रत धारण गर्ना नसके पनि श्रावणको सोमबार व्रत बस्नाले समस्त व्रतको फल मिल्ने भएकाले पनि श्रावणको सोमबारलाई विशेष रूपमा लिइएको हो ।
व्रतफल :
जसले यसरी पार्वतीसहत शिवजीको उपासना गर्दछन् ती व्यक्तिले पुनरावृत्तिरहित अथवा पुनर्जन्मरहित भई अक्षय लोकको प्राप्ति गर्दछन् ः ‘सोमबारे यजन्त्ये ये पार्वत्या सहितं शिवम् । ते लभन्त्यक्षयाल्लोकान्पुनरावृत्तिदुर्लभान् ।।’ (स्कन्दपुराण,पूर्ववत्, ६।१७) पुत्र चाहनेले पुत्र, सन्तति चाहनेले सन्तति, धन चाहनेले धन, जे जस्तो कामना राखको छ सोहीअनुसार फल प्रदान गर्ने श्रावणको सोमवारको महिमा रहेको छ : ‘पुत्रार्थी लाभते पुत्रान्धनार्र्थी लभते धनम् । यं यं चिन्तयते कामं तं तं प्राप्नोति मानवः ।।’ (स्कन्दपुराण, पूर्ववत्, ६।२०) अर्थात् श्रावणको सोमबार व्रत धारण गर्नाले मनले चाहेअनुसारको फल प्राप्त हुने गर्दछ ।
यसैगरी यो लोकको लामोसमय अभीष्ट (इच्छाअनुसारको) भोग गरेर मृत्युपश्चात् पनि ससम्मान विमानमा चढी रुद्रलोक जान पाइन्छ भनी स्कन्दपुराणमा उल्लेख गरिएको छ । यसरी गरिने व्रत भने संगल्पपूर्वक हुनुपर्दछ । षोडशोपचारले शिवजीको पूजाका साथै बेलपत्र, पुष्पादिको अर्पण पनि फलदायी रहने गर्दछ । सायंकालमा पनि शिवजीको पूजा गरी कथा श्रवण गर्नुपर्दछ । यसैगरी व्रतको परिपूर्णताका निम्ति पूर्णपात्रदान पनि अनिवार्य रहन्छ । अन्यथा व्रतका फल भोग योग्य हुँदैन भनेर बताइएको छ ।
श्रावणमा रुद्राभिषेक गर्नुका कारण :
श्रवाण शिवजीको प्रिय महिना हो । यसैले प्रिय समयमा वा उचित समयमा गरिएको कार्य पूर्णतः फलदायी रहन्छ । यसैले अभीष्ट सिद्धिका निम्ति भगवान्को उपासना स्वरूप रुद्राभिषेक गरिन्छ । भगवान्को उपासना गर्ने तीन मुख्य विधि छन् । पहिलो हो अभिषेकात्मक । जसअन्तर्गत् भगवान्को प्रतिमा राखी पञ्चमृताभिषेक जलाभिषेक गरिन्छ । अर्को हो जपात्मक । जसअन्तर्गत भगवान्का मन्त्र जपद्वारा उपासना गरिन्छ । यसैगरी अर्को यज्ञ हुन्छ हवनात्म जसमा मन्त्रोच्चारणपूर्वक हवन गरिन्छ ।
यी तीन यज्ञमध्येको एक अभिषेकात्मक यज्ञ नै रुद्राभिषेक हो । नीलकण्ठ भगवान्ले कालकूट विषलाई कण्ठप्रदेशमा धारण गर्नुभएको छ । जसले उत्पन्न गर्ने तापलाई अभिषेकले शमन गर्दछ । जसबाट भगवान् प्रसन्न भई वरदान दिनुहुन्छ । सोही कुरा भगवान्ले यसरी बताउनुभएको छ : ‘धारणा पारणे कुर्यादुपोषणमथापि च । पञ्चामृताभिषेकं च मम प्रीतिकरं परम् ।।’ (स्कन्दपुराण, पूर्ववत्, २।८) भगवानको प्रीतिका निम्ति पञ्चामृतको अभिषेक उत्तम मानिएको छ । पञ्चामृतमा गाईको दूध, दही, घ्यू, मह, चिनी वा सखर पर्दछन् ।
अभीष्ट सिद्धिका निम्ति भगवान्को उपासना गर्ने एक सरल विधि रुद्राभिषेक हो । श्रावणमा नक्तव्रत गरी प्रत्येकदिन रुद्राभिषेक गर्नाले आशुतोष भगवान् प्रसन्न हुनुहुन्छ ः ‘कुर्यान्नक्तव्रतं योगिन् श्रावणे नियतो नरः । रुद्राभिषेकं कुर्वीत मासमात्रं दिने दिने ।।’ (स्कन्दपुराण, पूर्ववत्, २।५) अर्थात् श्राणमा गरिएको रुद्राभिषेक भगवान्लाई अझ प्रीतिदायी र आफ्नो अभीष्ट सिद्धिदायी रहने भएकाले पनि यो महिनामा रुद्राभिषेक विशेष रूपमा गरिएको हो । यसैगरी भगवान्ले कण्ठप्रदेशमा कालकूल विष धारण गर्नुभएको छ । जसले अत्यन्त ताप उत्पन्न हुन्छ । सोही तापबाट शान्तिका निम्ति देवगणले जलवर्षा गरेको समय श्रावण रहेकाले पनि यो महिना रुद्राभिषेक शिवप्रीतिदायी रहने गर्दछ ।
निष्कर्ष :
सर्वकल्याणकारी भगवान् साम्बसदा शिवजीको प्रिय महिना श्रावण र प्रिय बार सोम रहेकाले साउन महिनामा पनि सोमबार शिव उपासना उत्तम रहन्छ । यसरी शिवजीको उपासना गर्ने माध्यम वा विधि भने रुद्राभिषेक हो । यो समयमा गरिएको रुद्राभिषेक अभीष्ट फलदायी रहने भएकाले पनि श्रावण महिना रुद्राभिषका निम्ति उत्तम मानिएको हो । यसैगरी साउनमा शिवजीलाई जल, बेलपत्रका साथै आफूलाई प्रिय लाग्ने वस्तु अर्पण गर्नाले पनि मनोकामना पूर्ण रहने शास्त्रमा फल वर्णन पाइन्छ ।