बिहिबार, बैशाख ३१, २०८३

बिहिबार, बैशाख ३१, २०८३

नियुक्तिको गलत परम्परा

शंकर भण्डारी-

मुलुकमा कैयौँ पटक राजनीतिक परिवर्तन भए । राजनीतिक आन्दोलनबाट व्यवस्था परिवर्तन भए तर नेपालको कर्मचारीतन्त्रको शैली र राजनीतिक नियुक्ति प्रक्रियामा परिवर्तन भएन । दलहरूले आफ्ना कार्यकर्ता भर्ना गर्ने उद्देश्य राखेर राजनीतिक नियुक्ति गर्ने अभ्यास गरे । राजदूत, अख्तियारमा प्रमुख आयुक्त, आयुक्त, विश्वविद्यालयमा पदाधिकारी, न्यायाधीश होस् या संवैधानिक आयोग र संस्थानमा सबै ठाउँमा दलहरूले राजनीतिक नियुक्ति गरेर गलत परम्पराको सुरुवात गरे । यस्तो प्रक्रियाको अन्त्य गरी क्षमता, योग्यता र मुलुक निर्माणको दृष्टिकोण भएको, कुनै दलमा आबद्ध नभएको इमानदार, क्षमतावान् व्यक्तिलाई निष्पक्ष भएर नियुक्ति गर्ने प्रणाली अवलम्बन गर्नुपर्छ । फेरि पनि राजनीतिक दलको झोला बोकेको कार्यकर्ता भएकै आधारमा नियुक्ति हुने हो भने हालको न्यायालयको अवस्था हेरे पुगिहाल्छ । अन्य राजनीतिक नियुक्ति भएर गएका ठाउँको अवस्था के छ ? यसलाई दृष्टिगत गरेर नियुक्ति प्रक्रिया अवलम्बन गर्न जरुरी छ ।

न्यायालयप्रति जनविश्वास गुम्दै गइरहेको छ । दिन प्रतिदिन न्यायालयका विकृति, विसङ्गति छताछुल्ल भइरहेका छन् । कमिसन, घुस, भनसुनले न्यायालयमा प्रभाव पारिरहेको छ । राजनीतिक दलका नेतालाई विभिन्न प्रलोभनमा पारी नियुक्ति हुने परम्परा हावी छ । पार्टीकै भएर वकालत गरिरहेकाहरू कोटाका आधारमा न्यायाधीश भएका हुन्छन् । यसरी न्यायाधीश भएका व्यक्ति स्वतन्त्र तरिकाले निर्णय गर्नेभन्दा पनि विभिन्न प्रलोभनका आधारमै निर्णय गर्न बाध्य हुन्छन् । न्यायाधीशले आफूलाई सिफारिस गर्ने पार्टीको दबाब अथवा नेताको दबाबलाई अस्वीकार गर्न सक्दैनन् । यस्तो अवस्थामा नागरिकले न्यायालयप्रति कसरी विश्वास गर्छन् ? दलले नियुक्ति गरेका न्यायाधीश प्रधानन्यायाधीश हुने लाइनमा छन् । ती प्रधानन्यायाधीश हुने लाइनमा भएका व्यक्ति कुनै न कुनै पार्टीका केन्द्रीय विभाग वा जिम्मेवारीमा बसेका र मुख्य नेतालाई रिझाएर आएका पात्र नै छन् । तसर्थ न्यायालयलाई कसरी न्यायको मूर्ति मान्ने ? कुनै पनि ठाउँमा न्याय नपाए अदालतमा गएपछि न्याय पाइन्छ भन्ने आमविश्वास र मान्यता आज हराएर गएको छ ।

राजदूत भनेको दुई देशबीचको कूटनीतिक सम्बन्धलाई एकापसमा बलियो पार्ने एक प्रकारको दूत हो । राजदूतले दुई देशबीचको ऐतिहासिक सम्बन्ध कस्तो थियो ? वर्तमान अवस्थामा कसरी अगाडि बढिरहेको छ ? आगामी दिनमा सम्बन्ध कसरी मजबुत बनाउने भन्नेबारेमा गहिरो अध्ययन गर्न जरुरी छ । कूटनीतिमा दखल राख्न सक्ने, जुन देशको राजदूत भएर जान खोजेको हो, त्यो देशको राजनीतिक, आर्थिक, सामाजिक, भाषालगायत केही सामान्य विषयको जानकारी भएको, अङ्ग्रेजीमा दोहोरो कुराकानी गर्नसक्ने र आफ्नो देशका बारेमा कुनै आँच नपु¥याउने सक्षम, क्षमतावान्, बौद्धिक व्यक्तित्वलाई राजदूतमा सिफारिस गर्नुपर्छ ।

हाम्रो देशमा राजदूत नियुक्ति गर्दा पहुँचका आधारमा नेतालाई विभिन्न प्रलोभनमा पार्न सक्ने, कूटनीतिक ज्ञान नभएको, अङ्ग्रेजी पनि बुझ्न नसक्ने, सम्बन्धित देशका बारेमा केही जानकारी नभएको व्यक्तिलाई बनाउने प्रचलन छ । त्यसले अन्तर्राष्ट्रिय जगत्मा मुलुकको छवि कस्तो होला ? तसर्थ यस्तो प्रवृत्ति हटाई राजदूत नियुक्तिमा जुनसुकै सरकार आए पनि एउटै प्रकारको साझा मापदण्ड बनाएर नियुक्ति गर्ने नीति बनाउनुपर्छ । एउटा सरकार परिवर्तन हुनेबित्तिकै सम्पूर्ण देशका राजदूत फिर्ता बोलाउनु त्यति उचित हैन । राजदूत भनेको देशकै प्रतिनिधि हो । पटकपटक सरकार परिवर्तन हुँदा राजदूत पनि परिवर्तन गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । हाल राजदूत नियुक्ति गर्दा परराष्ट्र मन्त्रालयका केही कर्मचारी र पार्टीका केही नेता कार्यकर्तालाई नियुक्ति गर्ने काम गरिएको छ । यस्तो प्रवृत्तिको अन्त्य गरी नयाँ नीति बनाएर नियुक्ति गर्दा हाम्रो देश नेपालको छवि अन्तर्राष्ट्रिय रूपमा
राम्रै होला ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार अन्त्य गरी सुशासनमा जोड दिनुपर्ने संवैधानिक संस्था हो । मन्त्री, प्रधानमन्त्रीलगायत जो कसैलाई पनि भ्रष्टाचार गरेको अभियोगमा छानबिन गरी अदालतमा मुद्दा दायर गर्न सक्ने हैसियत राख्छ आयोगले । यति ठूलो अधिकार भएको निकायमा राजनीतिक नियुक्ति गरिन्छ भने त्यसबाट भ्रष्टाचार अन्त्य भई सुशासन स्थापित हुन्छ भनेर के अपेक्षा गर्ने ? करोडौँ, अर्बाैं, भ्रष्टाचार गरेका कैयौँ फाइल अख्तियारमा थन्किएका छन् । शक्तिशाली व्यक्तिको किन छानबिन हुँदैन ? आशीर्वादबाट अख्तियार प्रमुख र आयुक्त नियुक्ति गर्दा उसले आफूलाई नियुक्त गरेको दलका भ्रष्टाचारीलाई कसरी कारबाही गर्न सक्छ ? बरु उसलाई रिझाएर आफ्नो पदको सुरक्षालाई आफ्नो दायित्व सम्झन्छ । अनि कसरी हुन्छ भ्रष्टाचार नियन्त्रण ?

हरेक कार्यालयको भित्तामा लेखिएको हुन्छ ‘घुस खाने र घुस दिने सबै अपराधी हुन्,’‘भ्रष्टाचारीको मुखमा कीरा परोस्’लगायतका यस्ता नारा सजिएका हुन्छन् । कार्यालय प्रमुख घुस नखाई काम गर्दैनन् । अख्तियारले कारबाही गरे पनि तल्लो तहका कर्मचारी या व्यक्तिलाई गरेको हुन्छ तर शक्तिशाली व्यक्तिलाई छुन सक्दैन । माथिल्लो तहबाट कारबाही नगरे कसरी भ्रष्टाचार अन्त्य भई सुशासन कायम हुन्छ ?नेपालको शैक्षिक प्रणालीमा आम युवाको प्रश्नचिह्न खडा भएको छ । विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पन्न गर्ने कारखानामा रूपान्तरण भएका छन् । विश्वविद्यालय अस्तव्यस्त अवस्थामा छन् ।

विश्वविद्यालयबाट स्नातकोत्तर सकेका विद्यार्थी भौँतारिइरहेका छन् । यो किन र कसरी भइरहेको छ ? विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति भइरहेका छन् । उपकुलपति, रजिस्ट्रार, रेक्टर, विभिन्न क्याम्पसका प्रमुख, विभागीय प्रमुखलगायतमा भागबण्डाका आधारमा नियुक्ति हुन्छन् । त्यति मात्र हैन, परीक्षाको नतिजा प्रकाशन गर्ने, परीक्षा नियन्त्रक कार्यालयमा सहपरीक्षा नियन्त्रक पनि राजनीतिक भागबण्डामा नै आधारित छन् । अनुसन्धान गरी नयाँ सिद्धान्त पत्ता लगाउने अनुसन्धान केन्द्रमा पनि राजनीतिक दबाबमै नियुक्ति हुने परम्पराले विश्वविद्यालयको दयनीय अवस्थाको सङ्केत गर्छ । वरिष्ठ प्राध्यापकलाई छोडेर कनिष्ठलाई राजनीतिक दलकै कार्यकर्ता भएको कारणले विभिन्न जिम्मेवारी दिइने परम्परा छ । यस्तो पद्धति अन्त्य नभई विश्वविद्यालय सुदृढ हुन सक्दैन ।

विभिन्न संवैधानिक आयोगमा पनि राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गरिएका छन् । पछिल्लो समयमा त राजनीतिक भागबण्डा मात्र नभई प्रधानन्यायाधीशसमेत भागबण्डामा नियुक्ति भए । यसरी राजनीतिक भागबण्डामा नियुक्ति भएका संवैधानिक आयोगहरूले कसरी स्वच्छ, स्वतन्त्र भएर देश र जनताका पक्षमा काम गर्न सक्छन् ? संवैधानिक आयोगहरू पनि राजनीतिक पूर्वाग्रही तरिकाबाट चले भने आम नागरिकले कोप्रति विश्वास गर्ने ?

विभिन्न सरकारी संस्थान कतिपय धराशयी अवस्थामा समेत पुगेका छन्, कतिपय घाटामा गएका छन् । कतिपयको अवस्था नाजुक छ । नेपाल आयल निगम, नेपाल एयरलाइन्स, खाद्य संस्थानलगायतका कैयौँ ठूला संस्थान कहिल्यै पनि किन नाफामा हुँदैनन् ? विभिन्न संस्थानमा नियुक्ति गर्दा पनि संस्थानलाई राम्रोसँग बुझ्न नसकेको व्यक्तिलाई नियुक्ति गरिन्छ । त्यो व्यक्ति व्यक्तिगत स्वार्थ र दलीय स्वार्थमा डुबेर संस्थानलाई दोहन गर्न क्रियाशील हुन्छ । अनि संस्थानको अवस्था दिन प्रतिदिन दयनीय बन्दैन ? पार्टी कार्यकर्तालाई राजनीतिक नियुक्ति दिने विद्यमान परम्परा कायम राख्ने हो भने न्यायालय, विश्वविद्यालय, संवैधानिक आयोग, संस्थानलगायत अन्य निकायमा जनताको विश्वास गुम्दै जानेछ । राजनीतिक दलप्रति आम नागरिकको विश्वसनीयता पनि घट्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपतिशमशेरजबराले गरे २२ पुसमा सर्वदलीय बैठक आह्वान

काठमाडौं । संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेरजबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गर्नुभएको हो...

सत्ता गठबन्धनको बैठकबाट चुनावी तालमेल आज टुंगो लगाउने तयारी

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बिहान ११ बजे बस्दैछ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार निर्णायक बैठक मंगलबार बिहानेका...

के मानव मस्तिष्कलाई कार्बोहाईड्रेट चाहिन्छ ?

डा. दिलजान मन्सूर कर्ट शुरुमा कार्बोहाइड्रेट (Carbohydrate) बारे सामान्य जानकारी हामीले दैनिक खाने खानाबाट प्राप्त हुने फाइबर (FIBER) बाहेक, खानाबाट प्राप्त हुने कार्बोहाइड्रेटलाई हाम्रो शरिरको लागि...

स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक:नेता भट्टराई

टोकियो – नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक बिशाल भट्टराईले मुलुकमा राजनैतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचितप्रधानमन्त्री प्रणाली आवश्यक रहेको बताएका छन् । नेता भट्टराई नेकपा...