युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सीमामा रुसी सेनाको उपस्थितिलाई लिएर युद्धको डर नउब्जाउन पश्चिमी देशहरूलाई अपील गरेका छन्।
उनले पत्रकारलाई भने, ‘कुनै पनि समय आक्रमण हुन सक्छ’ भन्ने जस्ता चेतावनीले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी असर गरिरहेको छ।’
यसअघि बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अर्को महिना युक्रेनमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए। उनले यसलाई बलियो सम्भावना भनेका छन्।
रुसले युक्रेनमा आक्रमण गर्ने आफ्नो कुनै योजना नभएको बारम्बार बताउँदै आएको छ। शुक्रबार रुसका विदेशमन्त्रीले मस्कोले युद्ध नचाहेको बताए।
हाल युक्रेनको रुससँगको सीमामा करिब एक लाख सैनिक तैनाथ छन्। त्यसैलाई कारण देखाएर अमेरिका र पश्चिमा देशले लगातार युद्धको चेतावनी दिइरहेका छन्।
युक्रेनका राष्ट्रपतिले भने आफ्नो भर्खरैको वक्तव्यमा सेनाको यो तैनाथीलाई पछिल्लो पटक भन्दा ठूलो खतराको रूपमा नदेखेको उल्लेख गरेका छन्।
पत्रकार सम्मेलनमा उनले भने, ‘सम्मानित देशका नेताहरु भोलि नै युद्ध हुने निश्चित भएजसरी चेतावनी दिइरहेका छन्। यसले आतंकको वातावरण सिर्जना गर्ने गरिरहेको छ । यसले हाम्रो देशलाई कत्ति ठूलो असर गर्छ?’
सम्बोधनमा उनले देशभित्रको यस्तो त्रास र अस्थिरताको अवस्था देशका लागि सबैभन्दा ठूलो खतरा भएको बताए।
ह्वाइट हाउसका प्रवक्ता एमिली हर्नले राष्ट्रपतिले फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गर्ने प्रबल सम्भावना रहेको बताएको उल्लेख गरेकी छन्।
प्रवक्ताका अनुसार युक्रेनका राष्ट्रपतिसँगको वार्तामा राष्ट्रपति बाइडेनले युक्रेनमा रुसले आक्रमण गरेमा अमेरिका र उसका सहयोगीहरूले रुसलाई निर्णायक जवाफ दिने बताएका छन्।
उही समयमा, रुसले आक्रमणको डरलाई अस्वीकार गरेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुसामु धेरै माग राखेका छन्। मागमा उनले ती देशहरूलाई युक्रेनलाई कहिले पनि नेटोको सदस्य बन्न नदिन र नेटो गठबन्धनले पूर्वी युरोपमा आफ्ना सबै सैन्य गतिविधि त्याग्न आग्रह गरेका छन्।