मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

चितवनमा मतदाता संख्याभन्दा ९ प्रतिशत बढी मतपत्र पुग्यो

चितवन । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतपत्र आइपुगेको छ । शुक्रबार भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरले जानकारी दिएको छ ।

भरतपुरको लागि ४१० बण्डल र भरतपुरबाहेक ६ पालिकाको लागि ४५८ बण्डल मतपत्र आएको हो । एउटा बण्डलमा ५०० वटा मतपत्र छन् । निर्वाचन आयोगले चितवनका मतदाताको संख्या भन्दा ९ दशमलब १३ प्रतिशत अर्थात ३६ हजार ३१५ बढी मतपत्र पठाएको हो । जिल्लामा मतदाताको संख्या तीन लाख ९७ हजार ६८५ रहेको छ ।

आयोगले आफ्नो नीति अनुसार नै मतदाताको संख्या भन्दा केही बढी मतपत्र पठाएको चितवनका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए । ‘आयोगकै नीति अनुसार चितवनमा पनि केही बढी मतपत्र आइपुगेको छ’, उनले भने ।

प्याकिङ भएर आएको मतपत्रको बण्डलभित्र प्रिन्ट बिग्रिएका र च्यातिएका मतपत्र पनि पर्ने भएकाले आयोगले करिब १० प्रतिशतबढी मतपत्र पठाउने गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । ‘बण्डलमा मसि लतपतिएका, प्रिन्ट बिग्रिएका र च्यातिएका मतपत्र पनि पर्ने आयोगले विगतमा जस्तै करिब १० प्रतिशत बढी मतपत्र पठाएको हो’, उनले भने ।

भरतपुर महानगरपालिकाको लागि दुई लाख पाँच हजार मतपत्र आएको छ । भरतपुरमा एक लाख ८५ हजार ७५२ मतदाता छन् । महानगरबाहेक ६ पालिकाको लागि दुई लाख २९ हजार मतपत्र आइपुगेको छ । छ पालिकामा दुई लाख ११ हजार ९३३ मतदाता छन् ।

भरतपुरको लागि बनाइएको मतपत्रमा दल र स्वतन्त्रका गरी ३६ प्रकारका चुनाव चिह्न छन् । तर उम्मेदवार भने ३५ प्रकारका चुनाव चिह्न पाएका मात्रै छन् । ३६औँ नम्बरको लाइनमा राखिएको चुनाव चिह्न कुनै पनि उम्मेदवारको होइन ।

आयोगले मतपत्रको आकार मिलाउनका लागि मतपत्रको अन्तिम लाइनमा उम्मेदवार नै नभएको चिह्न राखेर पठाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए । ‘भरतपुरमा मात्रै हो एउटा चुनाव चिह्न बढी भएर आएको । अरू पालिकाको मतपत्रमा झन् पाँच/दश वटा चिह्न बढी राखेर पठाइएको छ’, उनले भने ।

सबै मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । २७ वैशाखमा सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरूलाई मतपत्र दिएर पठाइने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । ‘मतदान केन्द्रको लागि चाहिने मतपत्र छुट्टाएर पोको पार्छौँ र सम्बन्धित मतदान अधिकृतलाई जिम्मा लगाउँछौँ’, उनले भने, ‘मतपत्रको ढुवानी नेपाली सेनाले गर्छ ।’

मतपत्रको सुरक्षाको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । मतदान केन्द्रमा मतपत्र पुगिसकेपछि प्रहरीको सइ वा असइको कमाण्डमा मतपत्रको सुरक्षा गरिन्छ ।

मतदानको दिन ३० वैशाख बिहान दलका प्रतिनिधिहरूको रोहवरमा मतपत्रको पोको खोलिने उनले बताए । मतदानको समय बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म रहेको छ । चितवनमा १६१ वटा मतदान स्थल र ४५१ वटा मतदान केन्द्र छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...