संयुक्त राष्ट्रसंघले तत्कालै सहयोग नपाए अफगानिस्तानका लाखौं नागरिक मृत्युको मुखमा पर्न सक्ने चेतावनी दिएको छ।
बिहीबार अफगानिस्तानबारे चेतावनी जारी गर्दै राष्ट्रसंघले अफगानिस्तानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्नुपर्नेमा जोड दिएको हो।
राष्ट्रसंघले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त हुनबाट बचाउन अन्तर्राष्ट्रिय समुदायले पाँच अर्ब डलर मानवीय सहायता दिन, अफगानिस्तानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्न र त्यसको बैंकिङ प्रणाली सुरु गर्न अपिल गरेको छ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सञ्चारकर्मीहरूसँग कुरा गर्दै रोक्का गरिएको सम्पत्तिले अफगानिस्तानका नागरिकहरुको जीवन बचाउन सक्ने बताएका हुन्।
जीवन तथा अर्थतन्त्रलाई बचाउनको लागि पैसा रोक्का गर्ने किसिमको नियम तथा शर्तहरु हटाउनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रसंघका अनुसार अहिले करिब ८७ लाख मानिसहरु भोकमरीको चपेटामा परेका छन्। गुटेरसले अफगानिस्तानको अर्थतन्त्रमा अहिले तीव्र गतिमा पैसा पठाउनु जरुरी रहेको बताएका छन्।
गत अगष्ट महिनामा अफगानिस्तानमा तालिबानले कब्जा जमाएयता अफगानिस्तानको अर्थतन्त्र समस्यामा देखिएको छ।
अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानलाई दिँदै आएको सहयोग बन्द गरेका छन्। साथै अफगानिस्तानको विदेशमा रहेको सम्पत्ति पनि जफत गरिएको छ।