श्रमजिवी पत्रकारहरूका पक्षमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । ‘जहाँ श्रम समस्या, त्यहाँ नेपाल पत्रकार महासंघ’ भन्ने नाराका साथ महासंघले बुधबार काठमाडौंमा ‘वृहत् ऐक्यबद्धता’ प्रदर्शन गरेको हो ।
चाडबाडका बेलासमेत केही सञ्चारसंस्थाले पारिश्रमिक नदिएको, कोरोनालाई देखाउदै सञ्चारगृहबाट पत्रकारलाई निष्कासन गरेकोभन्दै पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘पेशागत अधिकार रक्षाका लागि आन्दोलन जारी छ, हामी पत्रकार चाहन्छौँ श्रम अधिकार, सञ्चारमाध्यमभित्रको श्रम समस्या समाधान गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा महासंघका उपाध्यक्ष रमेश बिष्टले अहिले आन्दोलनको सुरुवातमात्र भएको भन्दै पत्रकारको हकहितका लागि सञ्चारगृहकासाथै सञ्चारगृहका सञ्चालकको घरको ढोका धर्ना दिने चेतावनी दिए । त्यस्तै महासंघका महासचिव रोशन पुरीले श्रम समस्यासम्बोधनका लागी महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताए ।
महासंघले पारिश्रमिकसँगै श्रमसँग जोडिएका अन्य समस्या समाधान हुनपर्ने माग अघि सारेको छ । त्यस्तै महासंघले अब पत्रकारकोपक्षमा निरन्तर दबावमुलक कार्यक्रम गर्ने जनाएको छ ।