ताइवानकी राष्ट्रपति साइ इङ्-वेनले चिनियाँ दबाव अगाडि ताइवान नझुक्ने र आफ्नै प्रजातान्त्रिक जीवन निरन्तर गर्ने बताएकी छन
“हामीले जति उपलब्धि हासिल गर्छौँ त्यति चिनियाँ दबाब बढ्दै जानेछ,” उनले भनिन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘पुनः एकीकरण गर्ने’ भनेको भोलिपल्ट ताइवानको राष्ट्रिय दिवसका दिन उनको भनाइ आएको हो।
ताइवानले आफूलाई सार्वभौम राष्ट्र भन्छ तर चीनले उसबाट छुट्टिएर रहेको एउटा प्रान्त ठान्छ।
बेइजिङले एकीकरण गर्न सम्भावित शक्ति प्रयोग अस्वीकार गरेको छैन।
पछिल्ला दिनहरूमा चीनले ताइवानी आकाशमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा सैन्य जेटहरू उडाउने गरेको छ।
केही विश्लेषकहरूले त्यो ताइवानी राष्ट्रपतिलाई चेतावनीका रूपमा हेर्न सकिने बताउँछन्।
साइले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा चीनको सैन्य विमान उड्नाले राष्ट्रिय सुरक्षा र हवाई सुरक्षामा असर परेको बताएकी छन्।