ललितपुर । निर्वाचनको माहोल तातिरहँदा ललितपुर कांग्रेसका एक नेता भने ठगिधन्दा जोगाउन अनेक हर्कत गर्न थालेका छन् । स्थानीयसँग विभिन्न प्रलोभन दिएर ठूलो रकम उठाइ भागेका कांग्रेस नेता चुनाव लागेपछि कुरा नउठाउन फकाउने र धम्की दिने गर्न थालेका छन् ।
नेपाली कांग्रेस ललितपुरका नेता सत्यमान घिसिङले स्थानीयको ठूलो पैसा ठगेका छन् । नेपाली कांग्रेसको कोन्ज्योसोम गाउँपालिकाका उपसभापति रहेका घिसिङले ठगेका मध्ये ललितपुर चापागाउँकी दिपिका गोलेलाई अहिले कहिले फकाउने र कहिले धम्क्याउने गरेका छन् । लतिलपुरको चापागाउँकी दिपीका गोलेको साढे तीन लाख रकम ठगेर भागेका घिसिङले विभिन्न मान्छे लगाएर उनलाई दुःख दिन थालेका छन् ।
घिसिङले साढे दुई वर्षअघि विभिन्न प्रलोभन पारेर दिपीकाबाट तीन लाख रुपैयाँ लगेका थिए । जग्गा किन्नलाई पैसा नपुगेको र जग्गा पास गरेपछि दुई दिनमै पैसा फिर्ता दिने भन्दै सापटी लगेका घिसिङले साढे दुई वर्ष बित्दा पनि पैसा नदिएपछि गोले निकै तनावमा परेकी छन् । पैसा फिर्ता माग्दा आफू कांग्रेसको नेता भएको, प्रहरी प्रशासन सबै आफ्नै हातमा भएको र सरकार समेत आफ्नै पार्टीको भएको भन्दै घिसिङले लामो समयदेखि धम्की दिँदै भाग्दै गरेका छन् ।
पारिवारिक चिनजानमा रहेका घिसिङले निकै दवाव दिएपछि दिपिकाले चापागाउँको एक सहकारीबाट साढे तीन लाख रकम ऋण निकालेर दिएकी थिइन । ऋण निकालेर पैसा दिएको भोलिपल्टदेखि घिसिङ भागेको दिपिकाले बताइन । केही समय आफू विजी भएको र पैसा फिर्ता छिट्टै दिने भन्न थालेका घिसिङले केही समयपछि भने उनले अर्को एक जना महिलालाई लगाए । देवी गुरुङ नाम गरेकी महिलालाई लगाएर त्यो रकम छिट्टै तिरिदिने भन्न लगाए । अन्ततः देवी गुरुङ पनि एक दिन महानगरी प्रहरी वृत चापागाउँमा सत्यमानले आफूलाई ठूलो रकम ठगेको भन्दै निवेदन दिन गएको थाहा भयो । त्यसपछि दिपिकाले सत्यमानलाई खोज्न थालिन । तर, सत्यमानका नजिकका मान्छेहरुले उनलाई सत्यमान त्यस क्षेत्रको नामूद गुण्डा भएको, उसले धेरै मान्छेलाई कुटेको, तह लगाएको, हतियार लिएर हिड्ने गरेको भन्दै डराउन थाले । सत्यमानका पछि लागेमा ज्यानको जोखिम हुने भन्दै उनलाई तर्साउन पनि थाले ।
यसविषयमा जानकारी बुझ्न खोज्दा सत्यमानले आफूले पैसा लिएको स्वीकार गरे । साथै त्यो पैसा छिट्टै फिर्ता गर्ने बताए । हाम्रो संवाददाताले सत्यमानसँग भएको कुराकानीको अडियो समेत रेकर्ड गरेर राखेका छन् ।
आफू ठगिएको थाहा पाएपछि दिपिकाले यो कुरा परिवारका केही अन्य सदस्यलाई जानकारी गराईन । त्यसपछि परिवारका अन्य सदस्यबाट पनि त्यसरी नै पैसा लगेको थाहा भएको दिपिका बताउँछिन । साथै उनले गाउँका केही अन्य व्यक्तिहरुबाट पनि ठूलै पैसा उठाएको थाहा भएको उनले जानकारी दिइन ।
सत्यमान अहिले नेपाली कांग्रेसका चुनावी अभियानमा जुटेका छन् । उनी कहिले नेपाली कांग्रेसका सांसद उदय समशेर राणासँग फोटो खिच्दै फेसबुकमा हाल्ने गरेका छन् भने कहिले पार्टीका विभिन्न कार्यक्रममा अतिथि बनेको फोटो हाल्ने गरेका छन् । कहिले विभिन्न सामाजिक काममा सहभागी भएको फोटो फेसबुकमा हाल्ने गरेका छन् ।
दिपिकाले आफू ठगिएको र उल्टै सत्यमानबाट डर, त्रास र धम्की खाएपछि आफ्नो ज्यानको असुरक्षा भएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी पनि दिएकी छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले उनको निवेदनलाई जिल्ला प्रहरी कार्यालय जावलाखेललाई बुझ्न पठाएको र जिप्रका जावलाखेलले चापागाउँ प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । चापागाउँ प्रहरीले उनलाई सम्पर्क गर्दा सत्यमान कहिले आफू चितवन भएको बताउँछन, कहिले हेटौडा भएको बताउँछन् । आफूले दिपिकासँग मिल्ने पनि बताउँछन । तर, उनी अहिलेसम्म न त प्रहरीको सम्पर्कमा आएका छन् न त दिपिकाको घरपरिवारसँग सम्पर्क गरेका छन् ।
राज्यको सुरक्षा निकायले नै यसरी खोज्दा पनि सत्यमान नआएको र उल्टै उनले उजुरी फिर्ता लिन धम्की दिन थालेपछि दिपिकाको परिवार निकै निरास बनेको छ ।